काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो ।
बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे ।
कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।
फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

के भन्छन् प्रशिक्षक ?
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले गोल गर्न चुक्दा पराजित भएको बताए ।
'हामी स्कोरमा चुक्यौं । खेल त्यति उत्कृष्ट पनि खेल्न सकेनौं । त्यसमा पाएको मौकालाई सदुपयोग नै भएन,' प्रशिक्षक केसीले भने, 'आज उनीहरुको दिन रहेछ । पाएको हेडिङमै गोल गरे ।'
यस्तै उनले यो हारले टिमको उपाधि होडमा धक्का लागेको बताए ।
'उपाधिबाट बाहिरिए जस्तो भएको छ । आजको हारले हरेस भने खादैनौं । बाँकी खेल जित्नको लागि खेल्ने छौँ,' उनले भने ।
लिगमा पहिलो जित निकालेपछि फ्रेन्ड्समा प्रशिक्षक मार्कुस डान्टस खुसी देखिए ।
'धेरै राम्रो खेल जित्न सफल भयौं । ठूलो टिमसँग राम्रो जित निस्केको छ । खुसी छु,' उनले भने ।

थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, बिक्रम लामा, प्रवीन कुमार सैंजु, प्रिसो,एरिनोसो,वाशिउ हाजमत, मिक्छेन तामाङ, रुपेश केसी, सुशिल राई, अशोक खवास, शिव सुवेदी
फ्रेन्ड्स प्लेईङ सेट -
फिलीपे डी सौजा,सुरज गुरुङ,वाग्नेर डी कार्मो, यादु सिलवाल, निशेन सुब्बा, उत्तम राई, विश्व अधिकारी, अशिम भुसाल, देव लिम्बु, रमेश बर्तौला, सरोज योन्जन लामा