काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले थप गोल गर्न सकेन । मछिन्द्रले पाएको थप अवसरलाई गोलमा परिणत गर्न सकेन ।
पहिलो हाफको ४० औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बा अग्रता दोब्बर बनाउन चुके । डिबक्स भित्रबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
यस्तै खेलको ८७ औं मिनेटमा कर्नरमा आएको बललाई सुजल श्रेष्ठले हेडबाट पोस्टको दिशा दिन सकेनन् ।
जावलाखेलले पनि केहि गोलको अवसर बनाएको थियो । २४ औं मिनेटमा हरि कठायतको सशक्त प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको खुट्टामा लाग्दै बाहिरिएको थियो ।
जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ । र, मछिन्द्रले अपराजित यात्रा कायम राखेको छ । जितपछि मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रसँग पराजित भएसँगै जावलाखेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिगमा जावलाखेलको यो पहिलो हार हो ।
जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ । जावलाखेल पाँचौं स्थानमा रहेको छ ।
के भने प्रशिक्षकले ?
जावलाखेलका प्रशिक्षक नरेश थापाले फिनिसिङमा समस्या हुदाँ खेल जित्न गाह्रो भएको बताए । उनले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधार गरेपनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसकिएको उल्लेख गरे ।
‘पहिलो हाफको तुलनामा दोस्रो हाफ राम्रो भयो । फिनिसिङमा समस्या भयो । अवसर पाउँदा पनि सदुपयोग गर्न सकेनौ ।’ उनले भने ।
मछिन्द्रका मुख्य तीन खेलाडी कारबाहीमा पर्दा आफुलाई फाईदा पुगेपनि बैकल्पिक खेलाडी नभएको फाईदा उठाउन नसकिएको बताए ।
मछिन्द्रका प्रशिक्षक प्रबेश कट्वालले पहिलो हाफमै गोल निस्किदाँ खेल जित्न सहज भएको प्रतिक्रिया दिए ।
‘जावलाखेल नहारेको टिम हो । खेलाडीमाथिको कारबाहिले गाह्रो पनि थियो । पहिल्यै गोल निस्कदा सजिलो भयो ।’ उनले भने ।
उनले महत्वपुर्ण अंक प्राप्त गर्दा खुसी लागेको बताउँदै दोस्रो हाफमा दबाबमा खेलिएको स्विकार गरे ।
मछिन्द्र प्लेईङ सेट - रंजित धिमाल, विराज महर्जन, विशाल श्रेष्ठ, योगेश गुरुङ, अविशेक रिजाल, विशाल राई, रेजिन सुब्बा,सुजल श्रेष्ठ, आन्द्रेस निया, पिटर सेगुन, सोमिडे एडिलाजा
जावलाखेल प्लेईङ सेट - कुलदीप कार्की, गौतम श्रेष्ठ,टेकेन्द्र थापा, रुप बहादुर लामा,फोडे फोफाना, दिलन लोक्तन, सुजित बुढाथोकी, विशाल तामाङ, सिमान्त थापा, हरि कठायत, कुबेर बिष्ट