काठमाडौं । साविक विजेता एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक एक गोल गरिन् ।
पुलिसको लागि घिम कुमारी गुरुङ र निशा सुनुवारले एक एक गोल गरिन् ।
अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र भुटान फुटबल टिमबीचको विजेतासँग खेल्नेछ ।
आर्मी र भुटानबीचको दोस्रो सेमिफाइनलमा खेल सोमबार अपरान्ह हुनेछ ।
रोमान्चक डर्बी भिडन्त -
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा भएको खेलमा सुरुवाती अग्रता एपीएफले बनाएको थियो । खेलको तेस्रो मिनेटमै सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । ४३ औं मिनेटमा पुलिसकी निशाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याईन् ।
पहिलो हाफको इन्जुरी समयमा अनिताले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाईन् । तर, खेल सकिन अन्तिम केहि मिनेट बाँकी रहदा कप्तान घिमले गोल गर्दै पुलिसलाई २-२ को बराबरीमा फर्काईन् ।
त्यसपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । जसमा एपीएफकी सावित्रा नायक बनिन् ।
खेलको ९२ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३-२ को अग्रता दिलाईन् । ९५ औं मिनेटमा रेखाले गोल गर्दा एपीएफ ४-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको १०१ औं सावित्राले व्यक्तिगत तेस्रो गोलसहित ह्याट्रिक पुरा गर्दा एपीएफ ५-२ ले विजयी भयो ।