एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा टोटेनहमले वेष्ट ह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
नव नियुक्त प्रशिक्षक जोसे मोरिन्होको पहिलो खेलमा टोटेनहमलाई जित दिलाउन सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे ।
वेष्ट ह्यामका मिचिल एन्टोनियो र एन्गेलो ओग्बोनाले एक एक गोल गरे ।

खेलको ३६ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मौराले गोल गर्दा टोटेनहमको अग्रता २-० को बन्यो । खेलको ४९ औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोटेनहम ३-० ले अघि रह्यो ।
खेलको ७३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई ३-१ स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा वेष्ट ह्यामका ओग्बोनाले थप एक गोल गरेपनि टोटेनहम ३-२ ले विजयी भयो ।
योसँगै माउरिसियो पोचेटिनोको स्थानमा क्लब आएका मोरिन्होले पहिलो खेलमै टोटेनहमलाई जित दिलाएका छन् ।
जितसँगै छैटौं स्थानको टोटेनहमले १३ खेलबाट १७ अंक जोडेको छ । पराजित वेष्ट ह्यामले १३ खेलमा १३ अंक जोडेको छ ।
