एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार (आज) विभिन्न चार खेलहरु हुँदैछ ।
शनिबार साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बार्सिलोनाले लेगानेससँग उसैको मैदानमा खेल्नेछ । खेल साँझ ५:४५ बजे सुरु हुँदैछ ।
लेगानेसविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थान कायम गर्ने योजनामा हुनेछ । घरेलु टिम लेगानेस भने बार्सिलोनालाई स्तब्ध बनाउने लक्ष्यसहित मैदान उत्रने छन् ।
लिग लिडर बार्सिलोनाले १२ खेलमा २५ अंक जोडेको छ । लेगानेस ६ अंक जोडेर पुछारमा रहेको छ ।
रियलले घरेलु मैदानमा रियल सोसीडाडको सामना गर्ने छन् । खेल रातिको १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै बार्सिलोनाविरुद्ध दबाब बढाउने योजनामा हुनेछ । दोस्रो स्थानको रियलले १२ खेलमा २५ अंक जोडेको छ । तर, गोल अन्तरमा रियल बार्सिलोना भन्दा पछि रहेको छ । २३ अंक जोडेको सोसीडाड पाँचौ स्थानमा रहेको छ ।
एट्लेटिको ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । तेस्रो स्थानको एट्लेटिकोले १३ खेलमा २३ अंक जोडेको छ । यस्तै अर्को खेलमा रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ ।