एजेन्सी । इटालियन क्लब फिओरेन्टिनाको विंगर फ्रान्क रिबेरीलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।
इटालियन सिरी 'ए' फुटबलले रेफ्रीलाई दुर्व्यवहार गरेको कारण रिबेरीलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।
लिग अन्तर्गत लाजियोविरुद्ध २-१ ले पराजित भएको खेलमा रिबेरीले सहायक रेफ्री माटियो पास्सेरीलाई धकेलेका थिए ।
सिरी 'ए' का अनुशासन कमिटिले रिबेरीले खेल भावना विपरित कार्य गरेको कारण प्रतिबन्ध गरेको जनाएको छ । यस्तै रिबेरीलाई २० हजार युरो जरिवाना समेत गरिएको छ ।
जर्मन क्लब वायर्न म्युनिख छाड्दै यसै सिजन इटाली पुगेका रिबेरीले भने घटनाबारे माफी मागेका छन् ।
'म मेरो टिम मेट, प्रशिक्षक र समर्थकसँग माफी माग्न चाहन्छु,' रिबेरीले ट्वीट गरेका छन्, 'म पास्सेरीसँग क्षमा माग्न चाहन्छु । म निकै दुखी छु ।'