एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको रोमान्चक खेलमा लिभरपुलले साल्जवर्गलाई ४-३ गोल अन्तरले हराएको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । यस्तै साडियो माने र एन्ड्रयु एण्डरसनले एक एक गोल गरे ।
साल्जवर्गका हि चान ह्वाङ, ताकुमी मिनामिनो र ब्रुट हालान्डले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एण्डरसनको गोलमा लिभरपुलले अग्रता २-० को बनायो । ३६ औं मिनेटमा सलाहले पहिलो गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

३९ औं मिनेटमा साल्जवर्गका ह्वाङले गोल गर्दै खेल ३-१ मा ल्याए । ५६ औं मिनेटमा मिनामिनोले गोल गर्दा खेल ३-२ को बन्यो ।
खेलको ६० औं मिनेटमा साल्जवर्गका हालान्डले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।
जितसँगै समूह 'ई' को लिभरपुलले २ खेलमा ३ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । लिभरपुल पहिलो खेलमा नापोलीसँग पराजित भएको थियो ।

साल्जवर्गले पनि २ खेलमा ३ अंक जोडेको छ । साल्जवर्ग तेस्रो स्थानमा छ ।
यस समूहको अर्को खेलमा नापोलीले जेन्कसँग गोलरहित बराबरी खेलेको छ ।
नापोली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जेन्क १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

