सुनसरी । धरानले दोस्रो मेयर कप रात्रीकालीन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इनरुवामा आइतबार साँझ भएको खेलमा इटहरीलाई ४३ रनले हराउँदै धरानले सुखद सुरुवात गरेको हो ।
इनरुवास्थित रहेको जेल फिल्डको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धरानले निर्धारित २० ओभर खेल्दै १ सय १९ रन बनाएको थियो । धरानका लागि सुभाष चन्दले सर्वाधिक ४८ रन बनाएका थिए ।
धरानले दिएको १ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इटहरी १८ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो ।
खेलमा धरानका सुभाष चन्द प्लेयर अफ दि म्याच घोषित भए ।
फुलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा जारी प्रतियोगितामा सोमबार फुलबारी क्रिकेट क्लब इनरुवाले दुहबीको सामना गर्नेछ ।
प्रतियोगितामा तीन विभागीय सहित १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।