काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।
आइतबार बिहान वर्षाले प्रभावित खेलमा बार्बाडोस गुएना अमेजन वारिवर्ससँग डीएल पद्दतिको आधारमा १२ रनले पराजित भएको हो ।
ब्रिजटाउनमा बार्बाडोसले दिएको १३९ रनको लक्ष्यसहित गुएनाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि गुएनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन जोडेको छ ।
वर्षा रोकिएपछि गुएनाले ११ ओभरमा ७० रनको नयाँ लक्ष्य पाएको थियो । र, गुएनाले ११ ओभरमा ८१ रन बनायो ।
गुएनाका लागि ब्राण्डन किङले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चन्द्रपाउल हेमराजले २० रन बनाए ।
गुएनाविरुद्ध सन्दीपले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । यस्तै जेपी डुमिनीको नाममा १ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोस १९ ओभर २ बलमा अलआउट हुँदै १३८ रनमा समेटिएको थियो ।
बार्बाडोसका लागि जेपी डुमिनीले ३८ तथा एलेक्स हेल्सले २४ रन बनाएका थिए । गुएनाका क्रिस ग्रिनले ४ तथा इमरान ताहिरले २ विकेट लिए ।
जितसँगै गुएनाले अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको गुएनाले ६ खेलमा १२ अंक जोडेको छ।
५ खेलबाट ४ नका जोडेको बार्बाडोस लिगको चौंथो स्थानमा छ ।