काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका खेलाडीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोटरसाइकल खरिद गरेको छ ।
एन्फाले उत्कृष्ट चुनिएका ४ खेलाडी र प्रशिक्षकलाई दिने ५ थान पल्सर मोटरसाइकल खरिद गरेको हो । एन्फाले किनेको १५० सीसीको पल्सर मोटरसाइकल सोमबार एन्फा कम्प्लेक्स ल्याईएको छ ।
राष्ट्रिय टिमका खेलाडीहरु चाईनिज ताइपेबाट फर्किएपछि एन्फाले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नेछ । पुरस्कार वितरणको मिति भने तय नभएको एन्फा प्रवक्ता किरण राईले जानकारी गराए ।
नेपाली टिम अहिले विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न ताइपेमा रहेका छन् ।
एन्फाले झन्डै ८ महिनापछि खेलाडीलाई मोटरसाइकल दिन लागेको हो । लिग गत पुष २४ गते सकिएको थियो । जसमा मनाङ मर्स्याङ्दी च्याम्पियन बनेको थियो ।
लिगमा मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । यस्तै थ्रीस्टारका रेजिन धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिएका थिए ।
