काठमाडौं । नेपाल पुलिस क्लबकी तारादेवी पुन र नेपाली सेनाका पुकार गुरुङ सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् ।
प्रतियोगितामा तारादेवी महिला र पुकार पुरुषतर्फ स्ट्रङ्गेष्ट्र घोषित भए । दुवैले स्ट्रङ्गेष्ट्रको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे ।
पुरुषतर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।
उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए ।
बुधबार ढिलोगरि सम्पन्न भएको प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम गरे । उलने आफेनै नाममा आठौ राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एण्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार बहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ किर्तिमान राखेका हुने । दौश्रो स्थानमा रहेका नेपाल पुलिसका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरि कुलमा २१२ केजी उचाले ।
पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् ।
सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कुलमा १७० केजीका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरि कुल ११५ केजी भार बहन गरिन् । तेश्रो स्थानमा दाङ्गकी कल्पना चौधरी रहिन् । उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरि कुल ९० केजी भार बहन गरिन् ।
१०९ केजी तौलमा सिनियरमा पुलिसका संदेश गुरुङ्गले स्नाचमा १०६, क्लिनमा १३५ गरि कुल २४१ भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए ।
जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा किर्तिमान बनाए । उनले क्लिनमा संदेशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा संदेशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ किर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।
१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा किर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यस अघि सागर भण्डारीले आठौमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को किर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले ७०, १०० र १७० को भार बहन गरे ।
९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।
राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीहरुले नगद १ हजार प्राप्त गरे । पुरुष तर्फ २४ र महिला तर्फ २३ राष्ट्रिय किर्तिमा कायम भएका थिए । उदियमान तथा बेष्ट लिफ्टरले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तीन बिभागिय टोली जिल्ला तथा क्लबका करिव १०० जना खेलाडीहरुले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।