एजेन्सी । विश्व फुटबलमा मेस्सी र रोनाल्डोपछि वालोन डी’ओर दाबेदारको रुपमा इडेन हजार्ड र नेयमारको नाम आउने गर्छ । लेफ्ट विङ्गरको रुपमा चिनिएका दुवै खेलाडी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन् । कुनैपनि टिमलाई सफल बनाउन सक्ने क्षमता दुवै खेलाडीमा छ ।
तर पछिल्लो समय खुट्टामा लागेको चोटका कारण नेयमारले कोपा अमेरिका लगायत क्लब फुटबलका महत्वपुर्ण खेल गुमाएका थिए ।
नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मूल्य २ सय २२ मिलियन पाउण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका थिए । तर पछिल्लो समय पीएसजीसँग विवाद बढेपछि नेयमार पुन बार्सिलोनामै फर्कन चाहन्छन् ।
यता, यसै सिजन स्पेनिस महारथी क्लब रियल मड्रिडले लण्डन क्लब चेल्सीबाट हजार्डलाई अनुबन्धन गरेको थियो । एउटै पोजिसनमा क्लब फुटबलमा बेग्लै पहिचान बनाएका दुवै खेलाडीमा को उत्कृष्ट भन्ने चर्चासंगै उनीहरुबीचको तीन मुख्य भिन्नता केलाउने प्रयास गरेका छौ ।

१. ड्रिब्लिङ
दुई खेलाडीबीचको पहिलो भिन्नता भनेको ड्रिब्लिङ हो । उनीहरुको ड्रिब्लिङ गर्ने शैली निकै फरक छ ।
मड्रिडका स्ट्राइकर हजार्डको ड्रिब्लिङ शैली बार्सिलोनाका स्टार लियोनल मेस्सीसँग मिल्न जान्छ । नेयमारको शैली इटालीयन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र रोनाल्डीन्होसँग मिल्छ ।
हजार्ड आफ्नो शरीरलाई बलको रक्षाको रुपमा प्रयोग गर्छन् । उनी विगतका डिफेन्डरको चाल र शैली विरलै प्रयोग गर्छन् । यसकारण उनको खेल्ने शैलीले सजिलैसँग सबैको मन तान्छ ।
यता, हजार्ड जस्तो नेयमार बलको रक्षा त गर्दैनन् । तर त्यहीं शैलीकै वरिपरि रहेर खेल प्रर्दशन गर्छन् ।
तर पछिल्लो सिजनका खेल हेर्दा नेयमारको तुलनामा हजार्डले अधिक सफलता पाएका छन् ।

२. गोलदर
पीएसजी स्टार नेयमार चोटका कारण यस सिजन धेरै समय मैदान बाहिर रहे । पैतालामा लागेको चोटका कारण उनले कोपा अमेरिका समेत गुमाए ।
तर, हर्जाडको तुलनामा नेयमारले बढी गोल गरेका छन् । सन् २०१८ को गोलदर अनुसार २ सय १२ प्रतियोगितामा नेयमारले १ सय २९ गोल गरेका थिए । हर्जाडले ३ सय ९३ प्रतियोगितामा १ सय १७ गोल गरेका छन् ।
बार्सिलोनाका पुर्व खेलाडी नेयमार अहिले पीएसजीबाट छन् । फ्रि–किकको आधारमा हजार्डभन्दा नेयमार उत्कृष्ट छन् । तर गोल एसिस्ट हेर्ने हो भने हजार्ड भन्दा नेयमार अधिक स्वार्थी देखिन्छन् ।

३. नाटकीय
विश्व फुटबलमा हर्जाडभन्दा नेयमार बढी नाटकीय छन् । र यहीं कुराले नेयमारको चर्को आलोचना हुने गर्छ । सन् २०१८ को वल्र्डकपमा समेत उनको ठूलो आलोचना भएको थियो ।
यस्तै खेलाडी सरुवा बजारमा हर्जाडको तुलनामा नेयमारको अधिक माग देखिन्छ । तर नेयमारभन्दा हर्जाड विनम्र देखिन्छन् ।
