काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।
राखेपले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल २ सय ७२ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।राखेपले स्वर्णधारी खेलाडीलाई जनही ४/४ हजार नगद र प्रमाणपत्रले सम्मानित गरेको हो ।
सम्मानित हुनेमा ब्याटमिन्टनका प्रिन्स दाहाल, लन टेनिसका प्रणव खनाल, अभिलाषा बिष्ट, सुभांगी लक्ष्मी शाह, सलोनी तामाङ लगायतका खेलाडी रहेका छन् । यस्तै कराते, तेक्वान्दो, किक बक्सिङ,मुवा थाई लगायतका स्वर्ण ल्याउने खेलाडीहरु पनि सम्मानित भए ।

पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिव रमेश सिलवाल लगायतले पुरस्कृत गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले खेलमा पुरस्कार भन्दा पनि राष्ट्रको लागि पदक जित्नु ठूलो कुरा भएको बताए ।
‘खेलमा पुरस्कार ठूलो कुरा हैन । राष्ट्रकोलागि पदक जित्नु ठूलो कुरा हो ।’ सिलवालले भने , ‘अर्काे वर्ष ठूलो राशीका साथ खेलाडीलाई सम्मान गरिने प्रतिबद्धता गर्दछु ।’
यस्तै, सिलवालले खेलमा खेलाडीको मात्र नभएर प्रशिक्षकको पनि मुख्य र ठूलो भूमिका रहने बताएका छन् । सदस्य सचिव सिलवालले खेलाडीहरु उत्पादन गर्ने प्रशिक्षकहरुलाई पनि समयमै पुरस्कृत गर्ने बताए ।






