काठमाडौं । प्रदेश नम्बर ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता र कीर्तिमान बनाउने खेलाडीहरु नगदसहित पुरस्कृत भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार आठौंमा स्वर्ण पदक विजेता र कीर्तिमान बनाउने खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको हो । राखेपले प्रतियोगिता सम्पन्न भएको झण्डै तीन महिनापछि खेलाडीलाई पुरस्कार प्रदान गरेको हो ।
राखेपले आठौंमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान बनाउने १६ गरी कुल ७२३ खेलाडीलाई पुरस्कार प्रदान गरेको हो । आठौंमा कुल ३७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

राखेपले आठौंमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही १५/१५ हजार प्रदान गरेको छ । त्यस्तै टिमतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनह ७/७ हजार प्रदान गरेको छ । यस्तै कीर्तिमान भंग गर्ने खेलाडीलाई जनही २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कुल २८९ पदक जितेर टिम च्याम्पियन बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशत्र प्रहरीको एपीएफ क्लबले ५४ स्वर्ण, प्रदेश ३ ले २२ स्वर्ण, प्रदेश ५ ले ११ स्वर्ण, गण्डकीले १२ स्वर्ण, सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, प्रदेश १ ले ९ स्वर्ण, प्रदेश २ ले ६ स्वर्ण, एनआरएनएले ६ स्वर्ण र कर्णाली प्रदेशले ३ स्वर्ण जितेको थियो ।

खेलाडीहरुलाई राखेप सदस्य सचिव रमेश सिलवाल लगायत, राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देबकोटा लगायतले पुरस्कृत गरे ।





