एजेन्सी । म्यानचेष्टर युनाईटेडका फरवार्ड एलेक्सिस साञ्चेजले कोपा अमेरिकाको दौरान चोट बोेकेका छन् । चिली राष्ट्रिय टिमका फरवार्ड समेत रहेका साञ्चेजले कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा चोट बोकेका हुन् ।
अर्जेन्टिनाविरुद्वको खेलमा मैदान उत्रिएका उनलाई ह्यामिस्टिङको समस्याले सताएको छ ।
तेस्रो स्थानका लागि भएको प्लेअफको खेलमा बललाई पछ्याउने क्रममा उनले खेलको १७ औ मिनेटमा चोट बोेकेका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।
३० बर्षका चिलीका अन्तराष्ट्रिय फरवार्ड ओल्डट्राफोर्डमा क्लबमा लयमा देखिन संघर्षरत छन् । उनी सन् २०१८ को जनवरीमा लण्डन क्लब आर्सनलबाट म्यानचेष्टर युनाईटेड आएका थिए । चोटका कारण उनी क्लबको प्रि सिजन टुरमा समेत सहभागी हुने छैनन् ।
म्यान युनाईटेडले प्रि सिजन टुर अन्तर्गत अष्ट्रेलियाको भ्रमण गर्दैछ ।
साञ्चेजले चोट बोेकेको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको थियो । सो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
म्यान युनाईटेडले अगष्ट ११ मा चेल्सीसंग खेल्दै प्रिमियर लिगको सुरुवात गर्नेछ ।