काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोरेको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
जवाफी ब्याटिङमा आएको सनराइजर्स हैदराबादले ९.४ ओभरमा कुनै विकेट नगुमाई १६७ रन बनायो। हैदराबादले ६२ बल बाँकी छँदै जित हात पारेको हो। यसअघि सन् २०२२ मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ५७ बल बाँकी छँदै हराएको थियो।
खेलमा हैदराबादका ट्रेभिस हेडले सर्वाधिक ८९ रन बनाए। ३० बल खेलेका उनले ८ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्कासहित ७५ रन बनाए। खेल हारेपछि लखनउका कप्तान केएल राहुलले बोल्न आफूसँग कुनै शब्द नै नरहेको बताए।
‘मसँग कुनै शब्द छैन। यो अवास्तविक ब्याटिङ हो। यस्तो ब्याटिङ गरेको हामीले टिभीमा मात्रै देखेका थियौँ। हरेक बल ब्याटको बीचमा गएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘हेड र अभिषेकले कसरी खेलिरहेका छन् भनेर थाहा पाउने मौका दिएनन्। पहिलो बलदेखि नै आक्रामक बनेकाले उनीहरूलाई रोक्न गाह्रो भयो।’
जितसँगै हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हैदराबादले १२ खेलबाट ७ जितसहित १४ अंक जोडेको छ। हैदराबादले आगामी खेल गुजरात टाइटन्स र पञ्जाब किंग्ससँग खेल्नेछ। तीमध्ये कुनै एकविरुद्ध जिते हैदराबाद ‘प्लेअफ’मा पुग्न सक्छन्।
लखनउको पराजयले अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग खेल्ने छ। १२ खेलबाट १२ अंक जोडेको लखनउ तालिकाको छैटौँ स्थानमा छ।