काठमाडौँ। आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा पपुवा न्यू गिनीको कप्तानी असद भालाले गर्ने भएका छन्।
सन् २०२१ को विश्वकपमा पनि उनैले टोलीको नेतृत्व गरे थिए। पपुवा न्यू गिनीको उपकप्तानको जिम्मेवारी भने अलराउन्डर चार्ल्स अमिनीले पाएका छन्।
सन् २०२४ को विश्वकपका लागि छानिएका १५ खेलाडीमध्ये १० खेलाडी सन् २०२१ को टोलीमा थिए। ३ वर्ष अगाडि पपुवा न्यू गिनीले विश्वकप खेल्दा रिजर्भ खेलाडीको रूपमा रहेका ज्याक गार्डनर पनि टोलीमा छनोट भएका छन्।
त्यतिबेला टोलीमा रहेका सिमोन अटाई, जेसन किला, गौडी टोका, नोसाइना पोकाना र डेमियन रावु टोलीमा अटाउन सकेनन्। उनीहरूको स्थान ज्याक गार्डनर, अलेई नाओ, हिला भारे, जोन कारिको र सेमा कामियाले लिने छन्।
सन् २०२१ मा ओमान, स्कटल्यान्ड र बंगलादेशसँग पहिलो चरणमा पराजित भएको पपुवा न्यू गिनी सुपर १२ मा स्थान बनाउन असफल भएको थियो ।
‘पछिल्लो समय कोभिडको समयमा थियो र तयारी अहिलेजस्तो राम्रो थिएन। म यो प्रतियोगिताको प्रतिक्षामा छु। यसपटक हामी राम्रो प्रदर्शन गर्नेछौँ,’ उनले भने।
सन् २०२३ मा पूर्वीएशिया प्यासिफिक क्वालिफायरमा जापान, भानुआतु र फिलिपिन्सविरुद्ध खेलेका सबै ६ खेलमा जित हासिल गर्दै पपुवा न्यू गिनी विश्वकपका लागि छनोट भएको थियो। त्यसपछि नेपाल र हङकङसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला पनि पपुवा न्यू गिनीले जितेको थियो।
पपुवा न्यू गिनीले जुन २ मा गुयानामा वेस्ट इन्डिजविरुद्ध खेल्दै विश्वकपमा आफ्नो यात्रा शुरू गर्नेछ । समूह ‘सी’ मा यी दुई टोलीसँगै अफगानिस्तान, न्युजिल्यान्ड र युगान्डा रहेका छन् ।
पपुवा न्यू गिनीको टोली :
असद वाला (कप्तान), चार्ल्स अमिनी (उपकप्तान), अलेई नाओ, चाड सोपर, हिला वारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ मोरिया, किपलिंग डोरिगा, लेगा सियाका, नोर्मन भानुआ, सेमा कामिया, सेसे बाउ, टोनी उरा