काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा आरिफ शेखसहित ५ जनालाई मौका दिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका छन्।
देसाईंले पहिलो खेलमा बेञ्चमा रहेका आरिफलाई आजको खेलमा मौका दिएका छन्।
यस्तै, तीव्रगतिका बलर सोमपाल कामीले पनि मौका पाएका छन्। उनीबाहेक लोकेशबहादुर बम, सागर ढकाल र आकाश चन्दलाई पनि देसाईंले मौका दिएका छन्।
उनले पहिलो खेलमा रहेका कमलसिंह ऐरी, अभिनाश बोहरा, प्रतिश जीसी, विवेककुमार यादव र ललितनारायण राजवंशीलाई आराम दिएका छन्।
पहिलो खेलमा कमलले ३ ओभर बलिङ गर्दै ५३ रन खर्चिएर १ विकेट लिएका थिए। त्यति नै ओभर बलिङ गरेका प्रतिशले भने २८ रन खर्चिएपनि विकेट लिन सकेनन्।
यस्तै, ४ ओभर बलिङ गरेका अभिनाशले २८ रन खर्चिएर १ विकेट लिएका थिए। ४ ओभर नै बलिङ गरेका ललित ३४ रन खर्चिएपनि विकेटविहीन रहे। फिनिसर भनिएका विवेकले भने ६ बलमा ७ रनमात्रै बनाउन सकेका थिए।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शनकुमार झा, सोमपाल कामी, आकाश चन्द, लोकेशबहादुर बम, सागर ढकाल