काठमाडौँ। न्यूजिल्यान्डविरुद्धको शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले प्रशिक्षकहरूको जिम्मेवारी हेरफर गरेको छ। बोर्डका अनुसार मुख्य प्रशिक्षक अजहर महमूदलाई नियुक्त गरिएको छ।
पाकिस्तानले अप्रिल १८ तारिखदेखि न्यूजिल्यान्डसँग घरेलु मैदानमा ५ टी–२० खेल खेल्ने छ। शृंखलाका पहिलो तीन खेल रावलपिंडीमा र दुई खेल लाहोरमा हुनेछन् ।
गत अक्टोबरमा भारतमा भएको विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षकको पद रिक्त छ।
बोर्डले अहिलेसम्म स्थायी प्रशिक्षक नियुक्त गर्न सकेको छैन र विश्वकपपछि विभिन्न शृंखलाका लागि अस्थाइ प्रशिक्षक नियुक्त गर्दै आएको छ।
महमूदले सन् २०१९ मा पाकिस्तानी टोलीसँग बलिङ प्रशिक्षकको रूपमा काम गरेका थिए। उनी पाकिस्तान सुपर लिगमा प्रशिक्षक हुन्। उनी इंग्लिस एन्ड वेल्स क्रिकेट बोर्डबाट प्रमाणित प्रशिक्षक पनि हुन्।
न्यूजिल्यान्डविरुद्धको शृंखलाका लागि बोर्डले मुख्य प्रशिक्षकबाहेक अन्य प्रशिक्षक पनि नियुक्त गरेको छ। पूर्वक्रिकेटर तथा वर्तमान राष्ट्रिय छनोटकर्ता मोहम्मद युसुफलाई ब्याटिङ प्रशिक्षक बनाइएको छ। वाहब रियाजलाई सिनियर टिम म्यानेजर र पूर्व स्पिनर मन्सुर राना टिम म्यानेजरमा नियुक्त भएका छन्। पूर्व क्रिकेटर अजमल स्पिन बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्।
केही दिनअघि मात्र बोर्डले बाबर आजमलाई एक दिवसीय र टी–२० को कप्तान नियुक्त गरेको थियो।
सन् २०२३ को एक दिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि बाबरले तीनै फर्म्याटको कप्तानी छोडेका थिए। त्यसपछि शान मसूदलाई टेस्ट र शाहिन अफ्रिदीलाई टी–२० ढाँचाको कप्तान बनाइएको थियो।