काठमाडौँ। मोहम्मद आमिर सन् २०२० र इमाद वासिम २०२३ पछि पहिलो पटक पाकिस्तानी टोलीमा फर्किएका छन्। पाकिस्तानले उनीहरूलाई यसै महिनाको अन्त्यमा घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध हुने ५ खेलको टी–२० शृंखलाको लागि टोलीमा पुनरागमन गराएको हो।
पाकिस्तान क्रिकेट बोर्डले सन्न्यास लिइसकेका यी दुई खेलाडीलाई टोलीमा फर्काएको हो। दुवैले आगामी आईसीसी टी–२० विश्वकप २०२४ को लागि आफ्नो सन्न्यासको निर्णयलाई फिर्ता लिएका थिए।
छनोटकर्ता वाहब रियाजले भने, 'इमाद वासिम र मोहम्मद आमिरलाई छनोट गर्नु सजिलो निर्णय थियो। हरिस रउफ घाइते छन् र मोहम्मद नवाजको हालको फर्म खराब छ। आमिर र इमाद दुवैमा खेल जिताउनसक्ने क्षमता छ र हामी विश्वस्त छौं कि उनीहरूले राम्रो प्रदर्शन गर्नेछन्।'
पाकिस्तानले यस महिना युएई छाड्ने निर्णय गरेका उस्मान खानलाई पनि टोलीमा छनोट गरेको छ। छनोटकर्ताले फर्ममा रहेका फखर जमानलाई पनि टोलीमा समावेश गरेका छन्। पछिल्लो पीसीएस सिजनमा उनको फार्म राम्रो थिएन।
पीएसएलपछि छनोट भएको यो पहिलो टोली हो र यसलाई हेर्दा लिगमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा राखेको देखिन्छ । विजयी इस्लामाबाद युनाइटेडका लागि उत्कृष्ट इनिङ्स खेलेका आजम खानले टोलीमा आफ्नो स्थान कायम राखेका छन् ।
जनवरीमा पाकिस्तानको न्युजिल्यान्ड भ्रमणबाट बाहिरिएका युनाइटेडका कप्तान तथा पीएसएल खेलाडी शादाब खानले फेरि टोलीमा स्थान बनाएका छन् । प्रतियोगितामा इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि जितेका इरफान खान पनि टोलीमा छनोट भएका छन् ।
बाबर आजमले पाकिस्तानको टिमको कप्तानी गर्ने यो पहिलो सिरिज हुनेछ। बोर्डले विश्वकपपछि शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो। तर, उनले एक सिरिजमा मात्रै कप्तानी गर्ने मौका पाए। अफ्रिदी पनि टोलीमा छन् र नसिम शाह पनि टोलीमा फर्किएका छन्।
न्युजिल्यान्ड अप्रिल १४ मा पाकिस्तान पुग्नेछ। अप्रिल १८ देखि २७ अप्रिलसम्म रावलपिण्डी र लाहोरमा ५ टी–२० खेल्नेछन् ।
पाकिस्तानी टोलीः
बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद रिजवान, मोहम्मद आमिर, मोहम्मद इरफान नियाजी, नसीम शाह, श्याम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी, उस्मान खान, जमान खान।