काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज लखनउ सुपर जाइन्ट्सका तीव्र गतिका बलर मयंक यादवले दुई खेल गुमाउने भएका छन्। पेटको समस्याबाट ग्रसित भएपछि उनलाई लखनउले आराम दिएको हो।
आइतबार गुजरात टाइटन्सविरुद्धको खेलमा मयंकले एक ओभर मात्र बलिङ गरेका थिए। त्यसपछि दुखाइका कारण उनी मैदानबाट बाहिरिएका थिए।
लखनउका सीईओ विनोद विष्टका अनुसार मयंकलाई पेट तल्लो भागमा समस्या देखिएको छ। 'पेटको तल्लो भागमा दुखेको महसुस गरेपछि उनलाई अर्को हप्तासम्म आराम दिएका छौँ। उनी छिट्टै मैदानमा फर्किनेमा हामी आशावादी छौँ,' उनले विज्ञप्तिमा भनेका छन्।
लखनउले अर्को खेल १२ अप्रिलमा दिल्ली क्यापिटलसँग घरेलु मैदानमा खेल्ने छ। त्यसको दुई दिनपछि कोलकाता नाइट राइडर्ससँग उसैको मैदानमा खेल्ने तय छ। त्यसपछि लखनउले १९ अप्रिलमा घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग खेल्ने छ।
मयंकले गुजरातविरुद्धको खेलमा १४० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए। त्यसअघिका दुई खेलमा उनले लगातार १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए। एक ओभरपछि उनले असजिलोपन महसुस गरे। मैदान बाहिर गएपछि उनी फेरि बलिङ र फिल्डिङ गर्न मैदान आएनन्।
रोयल च्यालेन्जर्स बेंगलुरूविरुद्धको खेलमा उनले ३ विकेट लिएका थिए। त्यसअघि पञ्जाब किंग्सविरुद्धको डेब्यू खेलमा पनि ३ विकेट लिएका थिए। सो खेलमा उनी प्लेयर अफ द म्याच बनेका थिए।