काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आईसीसी टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
क्यानले सोमबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङमार्फत नेपालको नयाँ जर्सी सार्वजनिक गरेको हो।
सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रङको रहेको छ। जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ। सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ।
बीचको भाग निलो रङको रहेको छ। सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ। बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रङ रातो रहेको छ।
बायाँतर्फ छातीको भागमा क्यानको लोगो रहेको छ। पछाडिको अधिकांश भाग निलो र बाँकी रातो रङको रहेको छ। जर्सी नम्बर र खेलाडीको नाम पहेँलो रङले लेखिएको छ।
क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलाअघि नै प्रयोगमा आउने छ। आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्।
नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।