काठमाडौँ। मोनांक पटेल र एन्ड्रिस गौसले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली अमेरिकाले ५ टी–२० आई शृंखलाको पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ।
आइतबार राति सम्पन्न खेलमा अमेरिकाले पाहुना टोली क्यानडालाई ६ विकेटले पराजित गरेको हो। योसँगै शृंखलामा अमेरिकाले १–० को अग्रता बनाएको छ।
क्यानडाले दिएको १३२ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन बनायो। अमेरिकाका पटेलले ३४ बलमा ७ चौका र १ छक्कासहित ५० रन प्रहार गरे। गौसले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५० रन नै बनाए।
स्टिभन टेलर २२ रनमा आउट हुँदा मिलिन्द कुमार ४ र गजानन्द सिंह १ रनमा अविजित रहे। क्यानडाका डिलन हेलिगरले सर्वाधिक २ विकेट लिए। निकोलस किर्टन र साद बिन जफरले १/१ विकेट लिए।
त्यसअघि प्रेरी भ्यु क्रिकेट कम्प्लेक्स टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
क्यानडाका कप्तान साद बिन जफरले सर्वाधिक २९ रन बनाए। १६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। निकोलस किर्टन २७, परगत सिंह १९, एरोन जोन्सन १६ र हर्ष ठाकर १३ रनमा आउट हुँदा उदय भगवान् १ रनमा अविजित रहे।
अमेरिकाका नोस्टुश केन्जिगेले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रावलकर र शैडली भान शल्कविकले २/२ विकेट लिँदा जेसी सिंहको नाममा १ विकेट रह्यो।