काठमाडौँ। अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ तीन एक दिवसीय शृंखलामा क्लिन स्वीपबाट जोगिन असफल भएको छ।
आइतबार सम्पन्न खेलमा घरेलु टोली नेपाल आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको हो। योसँगै शृंखला आयरल्यान्डले ३–० ले क्लिन स्वीप गरेको छ।
यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो। त्यस्तै, शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको थियो।
आयरल्यान्डले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.४ ओभरमा २१५ रन मात्रै बनाउन सक्यो।
नेपालका अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए। ११८ बल खेलेका उनले १४ चौका प्रहार गरे। अर्जुन साउद ३६ तथा नरेन भट्ट र रुपेश सिंह १५/१५ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ५ विकेट लिए। गेभिन होईले ४ विकेट लिँदा म्याथ्यू फोस्टरको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।
आयरल्यान्डका स्टीफन डेहेनीले सर्वाधिक १०७ रन बनाए। १२९ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।
पिटर मुर ४४, म्याथ्यू हम्फ्रेज २३, मोर्गन टपिङ २१, फिओन ह्यान्ड २०, गेभिन होई १४ रनमा आउट हुँदा बेन ह्वाइट १९ रनमा अविजित रहे।
नेपालका रिजन ढकाल र रञ्जित कुमारले ३/३ विकेट लिए। विकाश आग्री र शाहब आलमको नाममा १/१ विकेट रह्यो।