काठमाडौँ। जुसप्रीत बुमराह चम्किएसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई १६९ लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो।
मुम्बईका जुसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १४ रनमात्रै खर्चिए। जेराल्ड कट्जीले २ विकेट लिँदा पियुष चावलाको नाममा १ विकेट रह्यो।
गुजरातका साई सुदर्शनले सर्वाधिक ४५ रन प्रहार गरे। ३९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। राहुल तेवतियाले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाउँदा राशिद खान ४ र विजय शंकर ६ रनमा अविजित रहे।
गुजरातले पहिलो विकेट ३१ रन बनाउँदा नै गुमाएको थियो। ओपनर ऋद्धिमान साहालाई जसप्रीत बुमराहले योर्कर बलमा १९ रनमै बोल्ड गरे।
स्कोर बोर्डमा ६४ रन हुँदा गुजरातले कप्तान शुभमन गिललाई पनि गुमायो। आठौँ ओभरको चौथो बलमा उनी लङ अनमा रोहित शर्माबाट क्याच आउट भए।
पियुष चावलाको बलमा आउट हुनुअघि उनले २२ बलमा ३ चौका र १ छक्कासहित ३१ रन प्रहार गरेका थिए।
चौथो कृजमा आएका अजमतउल्लाह ओमरजाई र सुदर्शनले २६ बलमा ४० रनको साझेदारी गर्दै गुजरातको इनिङ्स उकासेका थिए।
यद्यपि, १२औँ ओभरको अन्तिम बलमा ओमरजाई जेराल्ड कट्जीको बलमा डीप स्क्वायर लेगमा तिलक बर्माबाट क्याच आउट भए। उनले ११ बलमा १७ रन बनाए।
डेविड मिलर १७औँ ओभरको तेस्रो बलमा लङ अफमा हार्दिक पाण्ड्याबाट क्याच आउट भए। उनले ११ बलमा १२ रन प्रहार गरे।
सोही ओभरको तेस्रो बलमा अर्धशतक नजिक पुगेका सुदर्शन डीप स्क्वयर लेगमा तिलकलाई नै क्याच दिए। मिलर र सुदर्शनको विकेट बुमराहले लिएका हुन्।
राहुल २०औँ ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा नमन धिरबाट २२ रनमा क्याच आउट भए।