काठमाडौँ। मध्यम गतिका बलर कमलसिंह ऐरीले दुई वर्षपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। आयरल्यान्ड ‘ए’विरुद्ध चैत १५ गतेदेखि शुरू हुने टी २० र एक दिवसीय शृंखलाका लागि उनले नेपाल ‘ए’ टोलीमा स्थान बनाएका हुन्।
अन्तिम पटक उनले सिनियर टोलीबाट २०७८ चैतमा पपुवा न्यू गिनी, मलेसिया र नेपालसम्मिलित त्रिदेशिय टी२० आई शृंखला खेलेका थिए। उक्त शृंखलाअन्तर्गत चैत १९ गते मलेसियासँग भएको खेलमा फिल्डिङका दौरान कुमको हड्डीमा चोट बोक्न पुगेका थिए।
सोहीकारण मलेसियासँगको खेलबाट बाहिरिएका उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। उनको नेपाल नेशनल हस्पिटल, कलंकीमा शल्यक्रिया गरिएपनि त्यसयता टोलीमा स्थान बनाउन सकेका थिएनन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत १२ र १३ गते टी२० खेल खेल्ने छ। त्यसपछि यो टोली भारतमा गएर खेल्ने छ।
भारतमा सिनियर टोलीले बरोडा र गुजरातसँग चार टी२० खेल खेल्ने छ। सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय खेल खेल्ने छ।
त्यसपछि टी२० शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ।