काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङ्स इलाभेनलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेटमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १४९ रन बनाउदै काठमाडौंलाई मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले ८६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान शरद भेषावकरले ३९ रन जोड्दा रायन टेन डोसकाटेले १२ रन जोडे ।
काठमाडौंका जितेन्द्र सिंह मुखियाले २ विकेट लिंदा प्रदीप साहु र केभिन ओ ब्रायनले एक एक विकेट लिए ।
काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा रहेकोछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।
यता, काठमाडौं भैरहवालाई हराएर आफ्नो प्ले अफ सुरक्षित गर्न चाहन्छ । तीन खेलबाट ४ अंक जोडेर काठमाडौं चौथो स्थानमा छ । भैरहवालाई हराएमा काठमाडौंको प्ले अफ सम्भावना बलियो हुनेछ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा चितवन र पोखराबीच अपरान्ह १ बजे प्रतिस्पर्धाका लागि मैदान उत्रदै छन् ।