काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।
केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआती-११ मा पर्दै विकेटकिपर अर्जुन साउदले नेपालका लागि डेब्यु गरेका छन् ।
यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
आसिफ शेख र वसिर अहमेद बाहिर रहदा अर्जुन र शाहब आलमले सुरुआती -११ मा स्थान बनाएका छन् ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।
तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।