काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी अनुबन्धको 'ड्राफ्ट' भदौ २१ गते गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी-ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी गराए ।
कार्यवाहक सचिव मल्लले दर्ता भएका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर ड्राफ्ट गरिने बताए ।
'विदेशी खेलाडीको रजिस्ट्रेसन पूरा भईसकेको छ । नेपाली खेलाडीको रजिस्ट्रेन बुधबारसम्म हुनेछ,' मल्लले खेलपाटीसँग भने, 'रजिस्ट्रेसन पछि खेलाडीलाई 'ए', 'बी' तथा 'सी' श्रेणीमा वर्गीकरण गरिने छ ।'
'ए' श्रेणीका खेलाडीले कम्तिमा १५ लाख पाउने क्यानले यस अघि नै बताईसकेको छ । यस्तै 'बी' श्रेणीका खेलाडीले कम्तिमा १० लाख र 'सी' श्रेणीका खेलाडीले कम्तिमा ५ लाख पाउने छन् ।
क्यानले शनिबारबाट खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको थियो । क्यानले भदौ १५ गतेसम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ ।
एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछन् ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।