काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज आईतबार एक खेल हुदैछ ।
आईतबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत गर्न चाहन्छ । यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।
भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ ।
पछिल्लो पटक २०२१ को टी-ट्वान्टी विश्वकपमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह 'बी' मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा अफगास्तानले श्रीलंकालाई पराजित गरेको छ । प्रतियोगिताको फाईनल खेल सेप्टेम्बर ११ हुनेछ ।