काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।
श्रीलंकाले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए ।
यस्तै हज्रातउल्लाह जाजईले अविजित रहदै ३७ रन जोड्दा इब्राहिम जाड्रनले १५ रन बनाए ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।
श्रीलंकाका लागि भानुका राजपाक्षले सर्वाधिक ३८ रन जोड्दा चामिका करुनारत्नेले ३१ रन बनाए । दनुस्का गुनाथिलका १७ रनमा आउट भए ।
श्रीलंकालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए ।
मुजिब उर् रहमान र मोहमद नाबीले २/२ विकेट लिए ।
जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै २ अंक जोडेको छ।
प्रतियोगिताको दोस्रो खेलमा आईतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।