काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुल्ला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबारबाट प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया खुल्ला भएको जनाएको छ।
क्यानले अगस्ट ३१ सम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ ।
क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली खेलाडीका दर्ता खुला गरिएको जानकारी दिए ।
'हामीले अहिलेको रजिस्ट्रेसन नेपाली खेलाडीका लागि गरेका हौँ । विदेशी खेलाडीका लागि रजिस्ट्रेसन भईसकेको छ,' मल्लले खेलपाटीलाई भने, 'खेलाडी ड्राफ्ट भने सेप्टेम्बरको पहिलो साता गर्ने तयारी हुदैछ ।'
क्यानले प्रतियोगिताका लागि खेलाडी छनोट 'ड्राफ्ट' बाट गरिने जनाएको ।
क्यानले खेलाडी दर्ताका लागि मापदण्ड समेत तोकेको छ ।
खेलाडीले राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनु पर्नेछ ।
२०१८ देखि यू-१९ क्रिकेटको उमेर स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा नेपालको प्रतिनिधित्व गरेको हुनु पर्नेछ।
यस्तै २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइने क्यानले जनाएको छ ।
त्यस्तै २०१८ देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइने क्यानले जनाएको छ ।
एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।
नाम दर्ता गर्न यस लिंक खोल्नुहोस ।