काठमाडौं । ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ ।
नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताईसकेका छन् ।
यस खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।
हेट टु हेड :
केन्या नेपालका लागि सहज प्रतिद्वन्दी हो । आईसीसीको वरीयतामा समेत केन्या नेपालभन्दा निकै पछि रहेको छ ।
आईसीसीका विभिन्न प्रतियोगितामा नेपाल र केन्याले पटक पटक खेलेका छन् । तर, टी-ट्वान्टी अन्तराष्ट्रियमा भने नेपाल र केन्याले पहिलो पटक खेल्न लागेका हुन् ।
यसअघि टी-ट्वान्टीको मान्यता रहेको दुई खेलमा नेपाल र केन्याले प्रतिस्पर्धा गरिसकेका छन् । दुई खेलमै नेपालले जित हात पारेको थियो ।
सन् २०१२ मा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाल र केन्याको पहिलो पटक भेट भएको थियो ।
यूएईमा भएको सो खेलमा नेपालले ५ विकेटको रोमान्चक जित हात पारेको थियो । नेपालले १ सय ४० रनको लक्ष्य २ बल मात्र बाकिँ रहँदा पूरा गरेको थियो ।
यस खेलमा प्रदिप ऐरीले ४५ तथा अनिल मण्डलले ३२ रन बनाएका थिए । तत्कालिन कप्तान पारस खड्काले २६ रनको अविजित ईनिङ खेलेका थिए ।
बलिङमा बसन्त रेग्मीले ३ विकेट लिएका थिए ।
नेपाल पहिलो पटक २०१४ को टी-ट्वान्टी विश्वकपमा छनोट भएको थियो । यसै विश्वकप छनोट प्रतियोगितामा नेपाल र केन्याको दोस्रो भेट भएको थियो ।
यूएईमा नै भएको त्यस खेलमा नेपालले ६ विकेटको रोमान्चक नतिजा निकालेको थियो । नेपालले १ सय ८३ रनको लक्ष्य २ बल अगाबै भेटेको थियो ।
नेपालका तत्कालिन कप्तान पारस खड्का तथा सुवास खकुरेलले समान ५४/५४ रन बनाएका थिए ।
जितेन्द्र मुखिया तथा बसन्त रेग्मीले समान २/२ विकेट लिएका थिए ।