काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आगमनले पछिल्लो समय कमजोरीका रुपमा देखा परेको अनुभवी खेलाडीको अभावलाई हटाउने बताएका छन् ।
कप्तान सन्दीपले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै करिब पाँच महिना पश्चात पहिलो पटक राष्ट्रिय टिममा परेका मल्लको आगमनले अनुभवी खेलाडीको अभाव हट्ने बताएका हुन् ।
'उहाँ हामी सबैको सिनियर हुनुहुन्छ उहाँको अन्डरमा रहेर पनि हामीले लामो समय खेलेका छौँ,' लामिछानेले भने, 'उहाँबाट टिम आएका युवाहरुले धेरै अनुभव लिन सक्छन् । उहाँबाट टिमले उही अपेक्षा नै राखेको छ ।'
यहिँ भदौमा हुने केन्या भ्रमणका लागि टोलीमा पर्दै मल्लले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
कप्तान सन्दीपले केन्या भ्रमणको हरेक खेलमा जितकै अपेक्षा राखिएको बताए । तर, केन्याको पछिल्लो प्रदर्शनका कारण नेपाललाई केही सहज देखिए तापनि एसोसिएट राष्ट्रका विपक्षीलाई यसै भन्न नसकिने उनले बताए ।
नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ ।
नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।