काठमाडौं । सन् २०१६ मा बंगलादेशमा आयोजना भएको आईसीसी यू-१९ विश्वकप अन्तर्गत नेपालविरुद्ध आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो ।
नेपालको लक्ष्य आयरल्याण्डलाई कम रनमा रोकेर त्यो खेल जितेर आफु पनि कमजोर नरहेको सन्देश दिनु थियो ।
त्यस खेलमा हाल राष्ट्रिय टोलीका कप्तान रहेका सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिन सफल भए । उनले ह्याट्रिकसहित महत्वपूर्ण ५ विकेट आफ्नो नाममा गरे ।
त्यस विश्वकपमा सन्दीपले आफ्नो बलिङको जादु यसरी देखाए कि प्रतियोगिता भर १४ विकेट लिए । सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दीप दोस्रो स्थानमा रहे ।
यू-१९ विश्वकपको प्रदर्शनसँगै उनले सिनियर टोलीका लागि डेब्यु गर्न धेरै समय पर्खनु परेन । २०१६ को अप्रिलमा भएको आईसीसी विश्व क्रिकेट च्याम्पियनसिपमा नामिबियाविरुद्धको खेलमा सन्दीपले डेब्यु गरे । तर, उनको सिनियर टोलीको लागि अनौपचारिक डेब्यु भने नेपालले मेरिलिबोन क्लब(एमसीसी)विरुद्ध २०१५ मा खेल्दा नै भईइसकेको थियो ।
सन् २०१५ मा एमसीसीविरुद्ध खेल्दा एमसीसीको टोलीमा रहेका हङकङका विकेटकिपर स्कट म्याककिन्चिड पनि रहेका थिए । उनैको पहलमा सन्दीप हङकङ टी-ट्वान्टी ब्लेईज्डमा कईलोन क्यान्टोन्समा आबद्ध हुने मौका पाए । सोही क्लबमा अस्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्क पनि रहेका थिए । क्लार्क उनको बलिङ क्षमताबाट प्रभावित भए । सन्दीपलाई थप प्रशिक्षणका लागि अस्ट्रेलिया बोलाए । सन्दीप प्रशिक्षणका लागि अस्ट्रेलिया गए । उनले क्लार्कको स्थानिय क्लबमा केही समय प्रशिक्षण गरे ।
त्यससँगै विदेशी लिगहरुमा सन्दीपको माग यति बढ्यो कि उनले सबै लिगका लागि समय दिन पनि सकेनन् । आईपीएल,पीएसएल,बीबीएल,बीपीएल,सीपीएल लगायत विश्वका हरेक ठूला मानिएका फ्रेन्चाईज लिगहरुमा उनको उपस्थिति बढ्न थाल्यो । उनको उपस्थितिसँगै प्रदर्शन पनि राम्रो बन्दै गयो ।
हालसम्म नेपालका लागि ३९ टी-ट्वान्टी अन्तराष्ट्रिय सन्दीपले खेलेका छन् । जसमा ७३ विकेट लिदै सर्वाधिक विकेटकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
२०१८ मा नेपालले एकदिवसिय मान्यता पाउँदा सन्दीपको प्रदर्शन राम्रो रहेको थियो । २०१८ अगस्ट १ मा पहिलो नेपालको एकदिवसीय अन्तराष्ट्रिय टोलीका ११ जनामा रहेका थिए । सन्दीपले नेपालले हालसम्म खेलेको ३० एकदिवसीय अन्तराष्ट्रियमा सबै खेल खेलेका छन् । ३० खेलमा सन्दीप ६९ विकेटका साथ शीर्ष स्थानमा रहेका छन् ।
एक वर्षको अवधिमा समेत सन्दीप एकदिवसीय अन्तराष्ट्रिय तथा टीट्वान्टी अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक विकेट कर्ताको शीर्ष स्थानमा रहेका छन् । नेपालका लागि एकदिवसीयमा ४६ तथा टी-ट्वान्टी आईमा २६ विकेट लिएका छन् ।
नेपालका एक सफल खेलाडीका रुपमा रहेका सन्दीपको जस्तो आम्दानी भएका नेपाली खेलाडी सायदै कोही होला । नेपाली खेल क्षेत्रमा उनलाई चुनौती दिन सक्ने खेलाडी तत्काल नजन्मिएला ।
२२ वर्ष अघि स्याङ्जामा जन्मिएका सन्दीपको जिम्मेवारीको दायरा कम थियो । तर, अहिले सन्दीपको जिम्मेवारीको दायरा धेरै फराकिलो बनेको छ । नेपाली टोलीका कप्तान रहेका उनीमा टिमको जित हारको कठिन जिम्मेवारी पनि रहेको छ । एक अनुभवी खेलाडीको रुपमा टिमलाई योगदान पनि दिन जरुरत रहेको छ ।
उनै सन्दीपले आज मंगलबार २२ औं जन्मदिन मनाउदैछन् । सन्दीपलाई जन्मदिनको शुभकामना ।