काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा लिजेन्ड अलराउन्डर कपिल देवले राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई टिममा स्थान दिनु पर्ने बताएका छन् ।
देवले खेलाडीको टिममा रहेको योगदानलाई भन्दा पनि उसको अहिलेको लय कस्तो रहेको छ त्यसका आधारमा टोली बनाउनु पर्ने बताएका छन् ।
दुई वर्ष यता खास योगदान दिन नसके पनि टिममा स्थान बनाईरहेका पूर्व कप्तान विराट कोहलीलाई संकेत गरेर उनको यो धारण बाहिर आएको हो ।
इंग्ल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा कोहली उपलब्ध हुनासाथ पहिलो टी-ट्वान्टीमा राम्रो प्रदर्शन गरेका र उच्च लयमा रहेका दिपक होडा बाहिरिएका थिए ।
'विश्वको टेस्ट वरियताको बलर तर्फ दोस्रो स्थानमा रहेका रविचन्द्रन आश्विनलाई टेस्टको प्लेईङ-११ मा नराख्दा हुन्छ भने विराटको बोझ टिमले किन लिइरहनु पर्ने,' एबीपी न्युजसँगको कुराकानीका क्रममा कपिलले भने ।
'कोहली एक समयका सर्वश्रेष्ठ खेलाडी रहेका थिए । अहिलेको अवस्थामा उनले विचार गर्नु पर्छ कि पुनः सोही लयमा नआउन्जेल विश्राम लिन जरुरत रहेको छ,' कपिलले थपे ।