काठमाडौं । आईसीसी विश्वकप लिग टूको खेलका लागि आज साँझ नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोली आज स्कटल्याण्ड जाने जानकारी गराएको हो ।
लिग टूको यसै सिरिजको तयारीमा नेपाली टोली हाल क्यानडामा रहेको छ । क्यानडामा रहँदा नेपालले स्थानीय क्लबसँग शतप्रतिशत जित निकालेको थियो ।
क्यानडाको सिनियर टोलीसँग भने दुई खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजमा भने नेपाल १-० ले पराजित भएको थियो ।
सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
दोस्रो खेलमा भने नेपालले लजास्पद हार व्यहोरेको थियो ।
स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालको पहिलो खेल जुलाई ११ मा नामिबिया विरुद्ध खेल्नेछ ।
यस लिगमा नेपालले पहिलो पटक स्कटल्याण्ड र नामिबियासँग खेल्दैछ ।