काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा ७ विकेटको जित निकालेको छ । इंग्ल्यान्डको जितसँगै ५ खेलको टेस्ट सिरिज २-२ को बराबरीमा सकिएको छ ।
भारतले दिएको ३ सय ७८ रनको लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन पहिलो सेसनमा ३ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको यो कीर्तिमानी जित हो । इंग्ल्यान्डले टेस्ट क्रिकेटमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
इंग्ल्यान्डलाई अन्तिम दिन जितका लागि १सय १९ रन आवश्यक रहेको थियो । ७२ रनका साथ जोनी बेयस्ट्रो तथा ७६ रनसहित जोय रुट क्रिजमा रहेका थिए । अन्तिम दिन दुबैले शतक पूरा गर्दा इंग्ल्यान्ड ७६ ओभर ४ बलमा विजयी भयो।
पूर्व कप्तान रुट १ सय ४२ रनमा अविजित रहे । बेयस्ट्रो पनि १ सय १४ रन अविजित रहे ।
यस्तै एलेक्स लिजले ५६ रनको अर्धशतकीय खेल्द ज्याक क्रलीले ४६ रन बनाए ।
भारतका लागि कप्तान जसप्रित बुमराहले २ विकेट लिए ।
पहिलो इनिङमा १ सय ३२ रनको फराकिलो अग्रतासहित दोस्रो इनिङ थालेको पाहुना टोलीले थप २ सय ४५ रन जोड्न सफल रह्यो । उसका चेतेश्वर पुजाराले ६६ तथा ऋषभ पन्तले ५७ रन जोडे ।
भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका कप्तान बेन स्टोकले ४, स्डुअर्ड ब्रोड र म्याथ्यु पोटले समान २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ऋषभ पन्त र रविन्द्र जडेजाको शतकको सहयोगमा ४ सय १६ रन बनाएको थियो । पन्तले १ सय ४६ रन बनाउदा जडेजाले १ सय ४ रन बनाए ।
इंग्ल्यान्डका जेम्स एन्डरसनले ५, म्याथ्यु पोटले २ तथा स्टुअर्ड ब्रोड,जो रुट र बेन स्टोकले समान १-१ विकेट लिए।
जोनी बेयस्ट्रोले १ सय ६ रनको शतकीय पाली खेलेपनि पनि इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ८४ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डलाई कम रनमा रोक्न मोहम्मद सिराजले ४ ,कप्तान बुमराहले ३, मोहम्मद सामीले २ तथा सार्दुल ठाकुरले १ विकेट लिए ।