काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ ।
पहिलो एकदिवसीय खेल अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो । खेल किङ सिटीमा रहेको मेप्ली लिफ क्रिकेट मैदानमा हुनेछ ।
क्यानडा भ्रमणका क्रममा नेपालले दुई अभ्यास खेल खेलिसकेको छ । दुवै खेलमा शतप्रतिशत जित सहित नेपाल उच्च मनोबलमा रहेको छ । आजको खेलमा जित हात पारी नेपाल सिरिजमा अग्रता बनाउन चाहन्छ । नेपालले सदा झै ब्याटिङमा जोड दिन आवश्यक रहेको छ ।
नेपालले किशोर महतो र बसिर अहमदलाई आजको खेलमा मौका दिन सक्ने सम्भावना रहेको छ । तिब्र गतिका बलर करण केसीको क्यानडाविरुद्ध राम्रो विगत रहेकाले सोमपाल कामीलाई विश्राम दिदै महतो टोलीमा स्थान बनाउने सम्भाबना रहेको छ ।
टिममा रहेका एक मात्र बाँया हाते बलर भएकोले र ब्याटिङ क्षमता समेत रहेका कारण बसिर टिममा पर्ने लगभग पक्का जस्तै रहेको छ ।
ओपनरमा आसिफ शेख र कुशल भुर्तेल पक्का जस्तै रहेका छन् । तेस्रो नम्बरमा देव खनाल रहदा चौथो र पाँचौं स्थानमा दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल रहने छन् ।
छैटौं स्थानमा आरिफ शेख रहँदा सातौं नम्बरमा आदिल आलमको सम्भावना रहेको छ । आठौं स्थान तिब्र गतिका बलर करण केसीले लिँदा नवौं स्थानमा बसिर अहमद रहने छन् । दशौं र एघारौं स्थानमा सन्दीप लामिछाने र किशोर महतो रहने छन् ।
नेपालको सम्भावित सुरुआती- ११
कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर),देव खनाल,दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,बसिर अहमद, सन्दीप लामिछाने(कप्तान) र किशोर महतो