काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ ।
पहिलो एकदिवसीय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटीमा रहेको मेप्ली लिफ क्रिकेट मैदानमा हुनेछ ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।
नेपालको लागि क्यानडा नौलो प्रतिद्वन्दी हैन । किनकी नेपालले यस अघि क्यानडासँग तीन पटक एकदिवसीयमा प्रतिस्पर्धा गरिसकेको छ ।
अघिल्लो तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एक पटक जित हासिल गरेको छ ।
नेपाल र क्यानडा पहिलो पटक २०१४ मा खेलेका थिए । २०१५ को आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो । सो खेलमा ज्ञानेन्द्र मल्लले ८६ रन बनाएका थिए ।
आईसीसी लिग डिभिजन टूमा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो । २०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपाल १ सय ६१ बल अगाबै ७ विकेटले विजयी भएको थियो ।
त्यस खेलमा पूर्व कप्तान पारस खड्काको ७७ तथा करण केसीले पाँच विकेट लिएका थिए ।
यस्तै क्यानडाबिरुद्धको तेस्रो तथा अन्तिम भेटमा नेपालले रोमान्चक जित निकालेको थियो ।
सन् २०१८ मा नामिबियामा भएको आईसीसी डिभिजन टूको खेलमा नेपाल १ रनले विजयी भएको थियो । ५१ रन जित्नका लागि आवश्यक रहेको थियो । नेपालसँग १ विकेट मात्र बाँकी रहेको अबस्थामा करण केसी र सन्दीप लामिछानेले रोमान्चक जित दिलाएका थिए । यस खेलमा करण केसीले ५ विकेटका साथ विजयी ४२ रन बनाएका थिए ।