काठमाडौं । बलर जसप्रित बुमराहले इंग्ल्यान्डविरुद्धको टेस्टमा भारतीय टोलीको कप्तानी गर्ने भएका छन् ।
कोभिड-१९ को संक्रमणको कारण कप्तान रोहित शर्मा अनुपस्थित हुने भएपछि बुमराहले इंग्ल्यान्डविरुद्ध कप्तानी गर्ने भएका हुन् ।
रोहितलाई गत साता कोभिड -१९ पोजेटिभ देखिएको थियो । बुधबार गरिएको कोरोना जाँचमा समेत नतिजा पोजेटिभ आएको थियो । बिहीबार पुनः उनको कोरोनाको टेस्ट गरिनेछ ।
बुमराहले पहिलो पटक कुनैपनि टिमको कप्तानी गर्न लागेका हुन् ।
यस्तै १९८६ पछि पहिलो पटक भारतीय टोलीको कप्तानी तिव्र गतिका बलरले गर्न लागेको हो । कपिल देवले १९८६ को सेप्टेम्बरमा अन्तिम पटक भारतका लागि टेस्ट क्रिकेटमा कप्तानी गरेका थिए ।
भारत र इंग्ल्यान्डबीचको टेस्ट शुक्रबार सुरु हुनेछ । यस खेल गत वर्ष नै हुनुपर्ने थियो । तर, कोरोनाका कारणले स्थगित भएको सिरिज अन्तर्गतको एक टेस्ट शुक्रबार सुरु हुन लागेका हो ।
भारतका टेस्ट कप्तान रोहित यसै खेलका लागि तयारी स्वरूप लिस्टरशयरविरुद्धको अभ्यास खेलको क्रममा कोरोना संक्रमित हुन पुगेका थिए ।
इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका अर्का महत्वपुर्ण खेलाडी रविचन्द्र आश्विन पनि कोरोना संक्रमित भएका थिए ।
तर, अहिले उनी कोरोनामुक्त भई भारतीय टोलीमा सामेल भइसकेका छन् ।