काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
क्यानले सोमबार नेपाली टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे । नेपाली टोली आज राति क्यानडा प्रस्थान गर्नेछन् ।
नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । त्यसअघि नेपाली टोलीले क्यानडामा एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
त्यसअघि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टिम -
सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारी