काठमाडौं । क्यानडाको भ्रमण गर्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले घरेलु टोलीसँग एकदिवसीय सिरिज मात्रै खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार क्यानडा भ्रमणको नयाँ तालिका सार्वजनिक गर्दै एकदिवसीय सिरिज खेल्ने जनाएको छ।
अब नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।
यस अघि क्यानले क्यानडा भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्ने जनाएको थियो ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।
नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो ।
नेपालले स्कटल्याण्डमा आयोजक र नामिबियाविरुद्ध खेल्नेछ ।
स्कटल्याण्डको सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।