काठमाडौं । आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग टू तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानिय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टिमको उपकप्तानमा रोहित पौडेल रहेका छन् । नयाँ दुई अनुहार बाहेक अधिकांस अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् ।
पवन सर्राफले टोलीमा पुनरागमन गर्दा वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् । सागर ढकाल र सुसन भारी यस पटक टोलीबाट बाहिरिएका छन् ।
नेपाली टिममा कप्तान लामिछाने र उपकप्तान पाडेल सहित कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल काकी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारी रहेका छन् ।
नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।