काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले औपचारिक रुपमा नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराएको छ ।
नेपाल भ्रमणमा रहेका आईसीसीको प्रतिनिधिले शनिबार क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराएको हो ।
आईसीसीले गत जेठ ३१ गते क्यानमाथिको आर्थिक नियन्त्रण हटाएको थियो । आर्थिक नियन्त्रण हटेसँगै क्यानमाथिको निलम्बन पूर्ण रुपमा फुकुवा भएको हो ।
आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्राबधान चरणबद्ध तरिकाले पूरा गरेको कारण सबै निलम्बन फुकुवा भएको बताए ।
ख्वाजाले नेपाली क्रिकेट विकासका लागि आईसीसी प्रतिबद्द रहेको समेत बताए ।
नेपाली क्रिकेटको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएकोमा आफुहरु सकारात्मक भएको ख्वाजाले बताए ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले अब आर्थिक गतिविधिसहितको सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त तरिकाले अगाडि बढाउन पाउने बताए ।
आईसीसी डेभलप्मेन्टका चेयरम्यान ख्वाजासँगै आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारी नेपाल भ्रमणमा रहेका छन् ।
क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपी नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो ।
२०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा भएको थियो ।
तर, आईसीसीले क्यानको आर्थिक नियन्त्रण फुकुवा गरेको थिएन ।