काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाई स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत सोमबार मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएका थिए । यस्तै अदालतले आज सोमबार छलफलका लागि बोलाएको थियो ।
तर, पेशी नचढी सोमबार रिटको सुनुवाई स्थगित भएको हो । अदालतले रिटको सुनुवाईलाई स्थगितको सूचीमा राखेको छ ।
इपीएलले गत जेठ १२ गते अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दर्ता गरेको थियो ।
क्यानले नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै इपीएलले मुद्दा दर्ता गरेको थियो ।
क्यानको बोर्ड बैठकले नेपाल आयोजना हुने फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल टी-ट्वान्टी लिग गर्ने भएको कारण अन्य लिगलाई मान्यता नदिने जनाएको थियो । क्यानले लिगको मिति र लिग खेल्ने ६ वटा टिमको नाम समेत सार्वजनिक गरिसकेको छ ।
नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) संचालन हुँदै आएको छ ।