काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ।
विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू-१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ । छनोटका लागि नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछन् ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले छनोटमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुने लक्ष्य लिएको बताए । जसको लागि नेपाली टोलीले १ महिनाबाट तयारी गरिरहेको उनले बताए ।
'हामी एक महिनाबाट बन्द प्रशिक्षणमा छौँ । हामीले यहाँ उपलब्ध साधन स्रोत अनुसार आवश्यक सम्पूर्ण तयारी गरेका छौँ,' मुख्य प्रशिक्षक रिजालले भने, 'यस प्रतियोगितामा ६ वटा टिम सहभागी छन् । जित्ने टिम छनोट हुन्छ । हामी त्यहिँ लक्ष्य लिएर तयारी गरिरहेका छौँ । हाम्रो लक्ष्य प्रतियोगितामा अग्र स्थानमा रहेर सुखद परिणाम दिने रहेको छ ।'
यस्तै नेपाली टोलीका कप्तान कृतिका मरासिनीले राम्रो नतिजासहित स्वदेश फर्कने बताईन् ।
'हाम्रो प्रशिक्षक, अफिसियलहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । हाम्रो लागि भनेर उहाँहरुले रातदिन मेहेनत गरिरहनु भएको छ,' कप्तान मरासिनीले भनिन्, 'आशा गर्छु की नेपालका लागि राम्रो खेलेर राम्रो नतिजा ल्याएर आउने छौँ ।'
किनरारा ओभलमा हुने छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । नेपालले कतारसँग जुन ३ मा खेल्नेछ ।
नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।
त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।
नेपाली टोली -
कृतिका मरासिनी, स्नेहा महरा,श्रीष्टि जैशी, मनिषा उपाध्याय,मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ,आश्मा पुलामी मगर,सानु राजवंशी,किरण कुँवर,अन्जली बिक,अनु कडायत,सुष्मिता भुसाल