काठमाडौं । पाहुना टोली जिम्बावे 'ए' ले दोस्रो एकदिवसीयमा नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटियो।
नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए ।
ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।
नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।