काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातलाई पुछारको मुम्बई इन्डियन्सले ५ रनले हराएको हो ।
मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि रिद्धिमान साहले ५५ रनको अर्धशतकीय इनिङ खेले । सुबमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
हार्दिक पाण्डय २४ तथा साई सुदर्शन १४ रनमा आउट भए । डेभिड मिलरले अविजित १९ रन बनाए ।
मुम्बईका मुरुगान आश्विनले २ तथा केइरन पोलार्डले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो ।
मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । टिम डाभिड ४४ रनमा अविजित रहदा कप्तान रोहित शर्माले ४३ रन जोडे ।
तिलक वर्मा २१ तथा सूर्यकुमार यादव १३ रनमा आउट भए ।
गुजरातका राशिद खानले २ विकेट लिए ।
जितसँगै मुम्बई १० खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।
गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । गुजरात शीर्ष स्थानमै रहेको छ ।