काठमाडौं । अष्ट्रेलियामा स्थापित क्रिकेट क्लब एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का) ले अष्ट्रेलियाको एडिलेडमा १० र १२ वर्ष मुनिका खेलाडीहरुलाई प्रशिक्षण दिने भएको छ ।
'एन्का जेम्स' सिजन अन्तर्गत खेलाडी छनौट गरेर छानिएका युथ खेलाडीलाई एन्काले प्रशिक्षण दिने भएको हो ।
आगामी अक्टोबरमा शुरु हुने प्रशिक्षणका लागो एन्काले आगामी मे २८ मा एडिलेडमा खेलाडी छनौट गर्ने भएको छ । १० वर्ष र १२ वर्ष मुनिका दुई उमेर समूहका लागि छनौट हुने छन् ।
छनौट इन्डोर हुने भएकाले क्रिकेट खेलिरहेका बालबालिकाहरुलाई नयाँ अनुभव हुने छ । जसका लागि सहभागीले मे १५ भित्र एन्कामा नाम दर्ता हुनु पर्नेछ ।
एन्काका अध्यक्ष विजय जोशीले त्यस दिन छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लबसँग हुने खेलहरुमा सहभागी गराउने बताए । उनले टिममा नेपाली मात्र नभएर अन्य समुदायबाट पनि समावेश गर्ने बताए ।
जोशीले अष्ट्रेलियामा नेपाली मुलका खेलाडी उत्पादन गर्न सकेमा नेपाली समुदाय नै स्थापित हुने बताए ।